agriculture

विराटनगर: सुन्दै अचम्म लाग्ने झिंगाले पनि मान्छे कुटायो भनेर, तर मोरङ सोराभाग बेतना टोलका बासिन्दाले झिंगाकै कारण कुटाई खाएका छन् ।

गाउँलेले कुटाई मात्रै खाएका छैनन् प्रहरी हिरासतमा समेत पुग्नु परेको छ ।कुटाई खानेमध्येकै एक हुन तुलसीप्रसाद ढकाल । उनको ढाडमा निलडामै निलडाम छन् । प्रहरीले शरीरभरि लाठी बर्साउँदा उनी हल न चल भएका छन् । चोट चहर्याउँछ । दुखेर रातभरि राम्रोसँग सुत्न सक्दैनन् । हात पनि सुन्निएको छ । ढकालले गाउँमा झिंगा फैलिएर दुःख भयो धपाई देऊ भन्दै न्याय माग्न जाँदा प्रहरीले नराम्रोसँग चुटेको हो । 

गाउँमा खुलेको कुखुरा फारमका कारण दुर्गन्ध र झिंगा फैलिएर बस्नै नसक्ने भएपछि समस्या समाधान गाउँलेले आग्रह गरेको तर प्रहरीले उल्टै उद्योगीको पक्षमा लागेर गाउँले कुटेको ढकालले बताएका छन् ।

शर्मिला राजवंशीले पनि प्रहरीको लाठी खाइन् । उनको खुट्टामा चोट छ । खोच्याएर हिँड्छिन् । उनले भनिन्,‘झिंगाले दुःख दियो, धपाऊ भन्दै गएका थियौं । प्रहरीले कुट्यो ।’

गाउँलेका अनुसार मोरङको सोराभागस्थित विराट पोल्ट्री फार्मबाट निस्कने दुर्गन्ध र झिंगाका कारण तीनवटा गाविसका आधा दर्जन टोलका एक हजार परिवार पीडित छन् । उद्योगबाट निस्कने झिंगा गाउँभरि फैलिएका छन् । रंगेली, सोराभाग र दर्वेशाको बेतना, मायागञ्ज तथा आमतोलाका बासिन्दा बढी पीडित छन् ।

समस्या सल्ट्याउन उद्योगलाई बारम्बार आग्रह गर्दासमेत वास्ता नगरिएपछि आन्दोलनमा उत्रिएका गाउँलेलाई प्रहरीले मंगलबार निर्घात कुटपिट गरेको पीडित दुर्गा गिरीले बताइन् । उनले भनिन्,‘हामी महिलालाई पनि लछार पछार गर्दै कुटपिट गरे । मेरो घाँटीमा लगाएको मंगलसुत्र पनि हरायो ।’ 

Previous
Next Post »