basanta gauchan

असार १०, २०७३- पूर्वराष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनले वार्षिक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी जापानमा व्यावसायिक सम्झौता गरेका छन् ।
जापानमा फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गर्नेक्रममा हालैमात्र गौचन फनरुट्स फुटबल एकेडेमीमा आबद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यावसायिक फुटबल एकेडेमी हो ।
उनले पुमा सकर क्लब, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखि १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा ४ देखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । यी तिनै फनरुट्स अन्तर्गतका शाखा हुन् । यही टिमलाई प्रशिक्षण दिएबापत गौचनले मासिक साढे चार लाख रुपैयाँ भन्दा बढी पाउने भएका हुन् ।
फनरुट्सको जर्मन टिम बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फनरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् । फनरुट्समा उनी स्पोर्ट्सको विद्यार्थीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् ।  
‘यो एकेडेमीसँग जोडिएर मैले आफ्नो स्तरलाई अझै माथि लैजाने अवसर पाएको छु, यस एकेडेमीमा युरोपका प्रशिक्षकहरू आउँछन् । त्यसबाहेक जापानका वरिष्ठ प्रशिक्षक र पूर्वखेलाडीहरूले प्रशिक्षण दिने हुनाले मैले पनि धेरै सिक्ने अवसर पाउनेछु,’ गौचनले जापानबाट भने ।
सन् १९९७ देखि २००१ सम्म नेपाली राष्ट्रिय टिमबाट खेलेका मनाङ–मस्र्याङदी क्लब र रानीपोखरी कर्नर टिमका पूर्वमिडफिल्डर गौचनले भने, ‘यो एकेडेमीमा प्रशिक्षण दिनु चुनौती धेरै छ, तर मैले पनि नेपालको प्रतिनिधित्व गरिसकेको हुनाले र एएफसीको ‘बी’ लाइसेन्स प्रशिक्षक भएको हुनाले आफ्नो जिम्मेवारी पूरा गर्नेमा विश्वस्त छु ।’ १९९९ मा नेपालले काठमाडौंमा दक्षिण एसियाली खेलकुदमा फुटबलमा रजत जित्दा गौचन टिमका महत्त्वपूर्ण सदस्य थिए ।


http://bit.ly/28SKMeB
Previous
Next Post »