earthquake again in bajhang

बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ ।

आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो धक्का तथा बाँकी दुई वटा साना धक्का गएका थिए।

बुधबार १६ पटक र आज बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बुधबार २ बजेर ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ वटा धक्का गएका हुन् ।”

बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा पाँच रिक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४.२ रिक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रिक्टर स्केलको, ३ बजेर २९ मिनेटमा ३.६ रिक्टर स्केलको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ रिक्टर स्केल लगायत १६ पटकसम्म गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “पाँच रिक्टर स्केलको भूकम्प गएपछि त्योभन्दा साना धक्का जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनुपर्ने अवस्था छैन ।”

यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझै पनि क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन्।

भूकम्प जहिले पनि र जति बेला जान सक्ने भएकाले पूर्वतयारीका साथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=219385#sthash.dltI452l.dpuf
Previous
Next Post »