modi bussiness in india

काठमाडौं: आतंकवादी हमलामा परी अफगानिस्तानको राजधानी काबुलस्थित क्यानाडेली दूतावासको प्रवेशद्वारनजिक ज्यान गुमाएका १२ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ । उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिनभर वाहवाही पाए । 

लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यका तर्फबाट मेहनतकस नागरिकप्रति यथोचित सम्मान पनि देखाए । यो घटना केही टाढाको थियो । तर नेपालसँग सीमा जोडिएको मुलुक भारतको देहरादुनमा ठीक एक महिनाअघि १० जना नेपाली श्रमिक एकै चिहान भएका थिए ओडारभित्र किचिएर । तर यो घटना राज्यको जानकारीमा पनि आएन । परिवारको पीडा पनि ओडारमै दबियो ।

जाजरकोट, सल्यान, रुकुम र बर्दियाबाट रोजगारीका लागि नेपालीहरू देहरादुन पुगेका थिए । उनीहरूले देहरादुनको त्युनी तहसिल क्षेत्रको जोडा भन्ने ठाउँमा भारत सरकारको परियोजनामा मजदुरीको काम पनि पाए । भारतीय प्रधानमन्त्रीका नाममा निर्माण सुरु भएको ‘प्रधानमन्त्री ग्रामीण सडक योजना’ अन्तर्गत ‘इनोल—चातरा मोटर मार्ग’ मा मजदुरी गर्दै केही साता उनीहरूले देहरादुनको त्युनीमा बिताएका थिए ।

भारत सरकार आफैंले निर्माण गरिरहेको यो सडकका लागि ४० भन्दा बढी नेपाली श्रमिक दैनिक ज्यालादारीमा काममा खटाइएका थिए । उनीहरूका लागि सडकछेउमै पाल टाँगेर बासको व्यवस्था मिलाइएको थियो । पहाडी भूभागमा बाटो खन्ने काम त्यसै पनि जोखिमपूर्ण त हो नै । दिनभर काम गरे पनि रातको समयमा हुने वर्षाको अत्यास कम पीडादायी हुन्न । 

२२ मे, २०१६ (जेठ ९) को मध्यरात त्यस क्षेत्रमा ठूलो आँधीहुरी आयो । मजदुरको बाटोछेउको पाल आँधीहुरीले उडाइदियो । ज्यान जोगाउन वैकल्पिक स्थान सुलभ थिएन । उनीहरू नजिकको ठूलो ढुंगामुनिको ओडारमा ओत लाग्न पुगे । देहरादुनका स्थानीय नेपाली मूलका भारतीय नागरिक गोर्खा इन्टरनेसनल सोसियो कल्चरल फाउन्डेसनका अध्यक्ष सूर्यबहादुर शाहीका अनुसार ओडारमाथिकोे ठूलो रूख ढलेर ओडारमा बज्रियो । ओडार भासियो । 

त्यहाँभित्र शरण लिएका १० जना नेपाली कामदारका लागि त्यो प्रलय र उनीहरूका परिवारका लागि त्यो बज्रपात साबित भयो । तर काबुल घटनाजसरी समाचार फैलिएन । ओडारनजिक रहेका अन्य चारजना नेपाली मजदुर सख्त घाइते भए । उद्धारका लागि ६ घन्टाभन्दा बढी समय लाग्यो । 

शाहीका अनुसार अन्त्यमा ओडारको ठूलो ढुंगामा बम विस्फोट गराई फुटाएर पुरिएका नेपालीको शव निकालियो । अत्यन्त हृदयविदारक उक्त घटनापछि भारतको उत्तराखण्ड सरकारका मुख्यमन्त्री हरिश रावतले तत्कालै पीडित परिवारलाई राहत रकम उपलब्ध गराउन निर्देशन दिए । देहरादुनका जिल्ला अधिकारी डा. रविनाथ रमनले त्यसलगत्तै प्रभावित प्रतिपरिवारलाई भारत सरकारका तर्फबाट राहतस्वरूप ४ लाख भारतीय रुपैयाँ र घाइतेको उपचार र राहतको घोषणा पनि गरे ।
Previous
Next Post »