increase in rape case in nepal

भवानी कार्की  दोलखा : अस्थायी टहरामा बस्दा बलात्कृत भएकी दोलखा चंखुकी २३ वर्षीया माया तामाङ (नाम परिवर्तन)ले भर्खरै मात्र बच्चा जन्माइन् । भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दा उनी छिमेकी २८ वर्षीय कृष्ण तामाङबाट बलात्कृत भएकी थिइन् । असामान्य अवस्थाकी उनी गर्भवती भएको थाहा हुँदासम्म अठार हप्ता नाघिसकेकाले गर्भपतन गराउन सकिने अवस्था थिएन । घटना थाहा पाएपछि पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडक तामाङलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । अहिले उनी जेलमा छन् । अस्थायी टहरामा बस्दा बलात्कृत १५ वर्षीया ललिता थामी (नाम परिवर्तन) गर्भवती भएको तीस हप्ता नाघिसक्यो । नचाहँदा पनि अहिले उनी सन्तान जन्माउने क्रममा छिन् । ललिता स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै थिइन् । बलात्कार गर्ने पुरुष ४० वर्षीय तिलोत्तम थामी थुनामा छन् । पटक–पटक बलात्कारमा पर्दासमेत ललिताले धम्कीका कारण कसैलाई भन्न सकेकी थिइनन् । जबर्जस्ती गरेको ‘बाहिर भने तँ र तेरो परिवारलाई नै मारिदिन्छु’ भनेर बलात्कारीले धम्की दिएकाले ललिताले घटनाबारे कसैलाई भन्न सकेकी थिइनन् ।  भूकम्पले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सरकारले गरेको ढिलाइका कारण भूकम्प प्रभावित महिलाले यस्तो नियति भोग्नु परिरहेको छ । भूकम्प आएको एक वर्षभन्दा बढी हुँदासमेत स्थायी र सुरक्षित संरचना निर्माण हुन नसकेका कारण अस्थायी रूपमा बसोबास गर्दै आएका महिला तथा किशोरीमाथि बलात्कारजस्तो जघन्य अपराध बढ्दै गएको हो । सरकारले अहिलेसम्म सुरक्षित आवासको व्यवस्था गर्न नसक्दा भूकम्प प्रभावित महिला तथा बालिका दिनप्रतिदिन विभिन्न हिंसामा परिरहेका छन् । सुस्पाक्षमावतीकी १९ वर्षीया रमिला थामी (नाम परिवर्तन) पनि टहरामै बलात्कृत भइन् । भूकम्प गएदेखि नै समयसमयमा बेहोस हुने गरेकी उनी अचेत अवस्थामा बलात्कृत भएकी हुन् । घरका अरू सदस्य मेलापात गएको मौका छोपी पटकपटक बलात्कार गर्ने छिमेकी २३ वर्षीय अविरल थामी फरार छन् । लामो समयसम्म उनले आफू गर्भवती भएको थाहा नपाउँदा परिवारलाई पनि भन्न सकिनन् । एक्कासि उनको शारीरिक अवस्थामा परिवर्तन हुँदै गएपछि छिमेकीले रमिला गर्भवती भएको पत्तो पाए । परिवार र समाजमा इज्जत फालेको भन्दै अपराधीलाई सजाय दिलाउनुको साटो उनलाई घरनिकाला गरियो । परिवार र समाजबाट साथ नपाएपछि अहिले उनी न्यायका लागि सदरमुकाम चरिकोट आएकी छिन् ।  पोषिलो खानेकुरा खुवाएर परिवारको साथमा खुसी मनाउनुपर्ने अवस्थाका महिला तनाव र डरत्रास बोकेर न्यायको ढोका ढकढक्याउन बाध्य छन् । न्यायको झिनो आशा बोकेर उनीहरू यतिखेर प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र विभिन्न सङ्घसंस्था धाइरहेका छन् । भूकम्प प्रभावित धेरै महिला तथा बालिका अस्थायी टहरामा विभिन्न किसिमका हिंसामा परेको आवाज दोलखाकी घटना व्यवस्थापक दुर्गा केसीले बताइन् । भूकम्पपछि अहिलेसम्म विभिन्न हिंसामा परेको भनेर झन्डै दुई सयभन्दा बढीको सङ्ख्यामा महिला तथा बालिका न्यायको खोजी गर्दै आवाज नेपाल दोलखाको सम्पर्कमा आएका छन् । आवाज नेपालका अनुसार यो अवधिमा दोलखामा मात्रै बलात्कार १५, बलात्कार प्रयास पाँच, घरेलु हिंसा २९, समाजबाट बहिष्कार पाँच, मनोसामाजिक उपचारको अभाव ३६ लगायतका उजुरी परेका छन् । महिला तथा बालबालिका कार्यालय दोलखा र आवाज नेपाल दोलखाले पीडित किशोरीलाई आवास सुविधासहित संरक्षण दिएको महिला तथा बालबालिका कार्यालय दोलखाकी प्रमुख लक्ष्मी ढकालले बताइन् । ढकालका भनाइमा, ‘पीडितप्रति परिवार र समाजको हेराइ परिवर्तन हुनुुपर्छ । यस्ता जघन्य अपराधलाई नियन्त्रण गर्नुु सभ्य समाजको दायित्व हो ।’ उनका अनुसार तीन वर्षकी बालिकादेखि ४५ वर्षसम्मका आर्थिक, सामाजिक अवस्था कमजोर, सीमान्तकृत, दलित, जनजाति, शारीरिक अवस्था कमजोर भएका र विपन्न महिला बढी हिंसाको सिकार भएका छन् । महिला तथा बालबालिका कार्यालय दोलखाका अनुसार एक लाख ४२ हजार ८० भूकम्पबाट प्रभावित महिला विभिन्न किसिमका हिंसामा परेका छन् ।  आवाज नेपाल दोलखाकी अध्यक्ष तथा महिला अधिकारकर्मी सिर्जना कार्की महिला र बालबालिकामाथि बढी हिंसा भएको समाजमा प्राकृतिक विपत्ति र युद्धमा उनीहरूको संरक्षण र सुरक्षामा झन् बढी ध्यान दिनुपर्ने बताउँछिन् । अध्यक्ष कार्कीका अनुसार घरपरिवार र समाजले थाहा पाएर घरनिकाला र बहिष्कार गरेका, साथीभाइ, सङ्घसंस्थाको सहयोगमा, न्यायको खोजीमा सचेत भएर आफैँ आएकाबाहेकका हिंसामा परेका दोलखाका कतिपय महिला काठमाडांैलगायतका स्थानमा गएर बसेका छन् । बलात्कारमा परेका थुप्रै महिला डरधम्कीका कारण हिंसा सहेर बसेका छन् ।  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीमा दर्ता भएका अधिकांश मुद्दा भूकम्प प्रभावित महिला टहरामा बस्दा विभिन्न बहानामा छिमेकी र आफन्तबाटै बलात्कृत भएका छन् । उनले भने– भूकम्पबाट सर्वस्व गुमाएर अभाव र पीडामा परेका अशक्त, पिछडिएका, जनजाति किशोरी तथा बालिकालाई सुरुमा ललाइफकाइ बलात्कार गर्ने, नमाने धम्क्याएर बलात्कार गरेका उजुरी छन् । डीएसपी पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखामा २०७२ साउनयता १४ वटा जबर्जस्ती करणीको जाहेरी दर्ता भएका छन् । १५ जना पक्राउ परी थुनामा र तीनजना फरार अभियुक्तको खोजी भइरहेको छ ।  नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष अधिवक्ता कृष्ण बस्नेत भन्छन्, ‘महिलाको अस्मितासँग जोडिएको यस मामिलामा न्याय दिन राज्यले बलात्कारविरुद्ध सशक्त कानुन बनाउन सके मात्र घटना न्यूनीकरण हुनसक्छ ।’  
Previous
Next Post »