रमन पनेरु सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै आएको छ । सुदूरपश्चिमको खप्तड आजको दिन सम्म आइपुग्दा एक उत्तम गन्तव्यको रुपमा स्थापित भइसकेको छ । सुदूरपश्चिममा खप्तड जस्था थुप्रै गन्तव्यहरु छन् । साथै यहाँको विकट पहाडी भेगहरुमा वनभोज, भ्रमण, पद यात्रा, पर्वतारोहण, जल विहार, तिर्थाटन, वनस्पतिहरुको अध्ययन, वन्यजन्तुहरुको अध्ययन, बन्जी, ¥याफ्टिङ्ग, कायाकिङ्ग, क्यानोइङ्ग, प्याराग्लाइडिङ्ग, लगायतका साहसिक खेल, आदिको थुप्रै सम्भावनाहरु पाइन्छ । यी थुपै्र सम्भावनाहरु मध्ये केहीका बारेमा लेखिइसकेका छन् भने कतिका बारेमा अझै लेख्न बाँकि छ । त्यस्तै लेख्न छुटेको गन्तव्य मध्येको एक गन्तव्य होः कञ्चनपुरको झिलमिले ताल ।
कञ्चनपुरको भिमदत्त नगर नगरपालिका वडा नं ९, मटेनामा पर्ने झिलमिले ताल त्यसको प्राकृतिक सुन्दरताको लागि हालका दिनमा आएर बढि ख्याती कमाउँदै आएको छ । मटेनाको स्थानीय बजारबाट करीब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने यो तालमा पुग्नको लागि स्थानीहरुले बनाएको बाटोका साथसाथै वन समितिको पहलमा बनाइएको पत्थरले चिनेको खुट्किलाहरु समेत रहेका छन् । पत्थरले चिनिएका खुट्किला उति प्रयोग नहुने हुँदा ठाउँठाउँमा ती खुट्किलाहरु झ्याङ्गभित्र बिलय भएको देख्न सकिन्छ । वनमा घाँसपात गर्न जानेहरुले बनाएको अनि अन्य ताल हेर्न जानेहरुले हिँड्दा हिँड्दै बनेको गोरेटो भने हिँड्नका लागि केही सजिलो र छोटो छ । तालमा जानेहरु प्राय गरेर खुट्किलाहरु भन्दा स्थानीय पदयात्रीहरुले हिँड्दाहिँड्दै बनेको बाटो गरेर नै तालसम्म पुग्ने गर्छन् ।
यस तालको विशेषता भनेको सामान्य अवस्थामा तालहरु पहाडको फेदमा हुने गरेपनि यो एक पहाडको चुचुरामा अवस्थित ताल हो । यस तालको वरीपरिको हराभरा वातावरणले ताललाई प्रकृतिमा रमाउने जो कोहीको लागि पनि एक असल गन्तव्यको रुपमा आफूलाई उभ्याउँदै आएको कुरा एकातर्फ छ भने अर्कोतर्फ ताल वरिपरि विभिन्न देवी थानहरुले धर्मकर्ममा आस्था राख्ने जो कोही ७नतसद्धालुहरुका लागि समेत ताल एक उचित गन्तव्यका रुपमा देखा पर्न गएको पाइन्छ ।
तालको विशेषताहरु मध्येको एउटा अर्को अति महत्वपूर्ण विशेषता भनेको तालको पानीको रंग दिनको फरकफरक समयमा फरकफरक देखिनु पनि हो । त्यसैले तालको नाम नै झिलमिले ताल रहन गएको भन्ने हो भन्ने स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ । तालको पानीको रंग परिवर्तनहुनुलाई कसैले तालको मुनी कुनै धातुको खानी हुन सक्ने कुरा व्यक्त गर्दछन् भने कसैले त्यो दैवीय शक्ति भएको कुरा व्यक्त गर्दछन् । जे भएपनि तालको पानीको रंग परिवर्तन हुनु आफैमा दुर्लभ र दिव्य रहेको कुरा मान्नमा सायद कसैले पनि हिच्किचाउँदैन होला ।
तालमा वर्षको जुन सुकै समयमा जान मिल्ने भएपनि माघे संक्रान्तिका दिन भने तालमा विशेष मेला नै लाग्ने गर्दछ । माघेसंक्रान्तिको अघिल्लो दिन नै ताल परिसरमा हजारौँ ७नतसद्धालुहरु जम्मा हुने र रातभर भजन किर्तन गर्ने गर्दछन् । त्यहाँका देवी थानहरुमा विशेष पुजा आजा हुने गर्दछ । भोलिपल्ट विहान तालको परिसरमा अवस्थित देवीदेवताका मन्दिरहरुमा पुजाआजा गरेर सबै जना आ–आफ्नो बाटो लाग्ने गर्छन् । माघे संक्रान्तिका बेला सुदूरपश्चिममा लाग्ने मेलाहरु मध्येको एक ठूलो मेलाको रुपमा यो मेलालाई पनि लिने गरिन्छ । सायद दुर्गमताको कारणले होला यहाँको मेलाले प्राय समाचारको शीर्षकहरुमा स्थान पाएको देखिँदैन । महेन्द्रनगरका स्थानीय एवं टाढाटाढाका ७नतसद्धालुहरुको समेत यहाँ माघेसंक्रान्तिको मेलाका क्रममा घुइँचो लाग्ने गर्दछ ।
ConversionConversion EmoticonEmoticon