politices

काठमाडौं, असार २१- नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा जनता उत्साही भएको बताउँदै उनको  विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गरेकी छिन्। 

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा  कांग्रेस नेतृ कोइरालाले  संविधान कार्यान्वयन गर्न तीनवटै निर्वाचन  गर्नु आवश्यक रहेको भन्दै तीनवटै निर्वाचन सम्पन्न नभएसम्म सरकार ढाल्ने काम आफ्नै लागि घातक हुने बताइन्।

नेतृ  कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गर्दै त्यसको अपजस कांग्रेसमाथि आउनेतर्फ  सचेत गराइन्। 

उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने जिकिर गरिन्।

कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै नेतृ कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले काग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने बताइन्। 

कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिइन् । 

उनले भनिन, ‘अहिले संविधान कार्यान्वयनकालागि निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्छ। सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन। एक त यो सरकार ढल्दै ढल्दैन, सरकार ढाले त्यसमा सक्रिय हुनेहरु नै फस्छन्।’

कोइरालाले कांग्रेस अहिले संगठन र पार्टीलाई बालियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गरिन्। 

उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनु पर्ने भएपनि  अरुको निर्णयबाट प्रभावित भएर मुलुकलाई अहिले गर्ने कुनै निर्णय गर्न नहुने धारणा राख्दै नेपाल भारत प्रवुद्ध समूहको बैठक बस्नु स्वागत योग्य भएको तर्क गरिन्। - See more at: http://dcnepal.com/news/news.php?nid=220372#sthash.ssGeLcF2.dpuf
Previous
Next Post »